माघ २७, काठमाडौं ।।
पाकिस्तान सरकारले भारतसँगको टी–२० विश्वकप नखेल्ने घोषणा गरेपछि अनिश्चित बनेको दुई देशबीचको बहुप्रतिक्षित भिडन्त अन्ततः निरन्तर कूटनीतिक छलफलपछि सम्भव भएको छ ।
उक्त कूटनीतिक छलफलसँगै अब प्रतियोगिताको समूह चरणमै विश्व क्रिकेटका दुई चिरप्रतिद्वन्द्वी देश आमनेसामने हुने पक्का भएको हो।
सोमबार(हिजो) बेलुका पाकिस्तान सरकार र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले संयुक्त विज्ञप्ति जारी गर्दै खेल तय भएको औपचारिक जानकारी दिएका छन्।
यी दुई देशबीचको प्रतिस्पर्धा यही फेब्रुअरी १५ मा श्रीलङ्काको कोलम्बोमा हुनेछ। विषेशगरी व्यावसायिक तथा दर्शक आकर्षणको केन्द्र मानिने भारत–पाकिस्तान भिडन्तलाई विश्वकपकै ‘मुख्य शो’ का रूपमा हेरिएको छ।
सबैभन्दा रोचक पक्ष भनेको यी दुई देशबीचको टसल अब मैदानमा पुन:एकपटक हुनेछ भने त्यस दिन कुन देशले विजय हासिल गर्ने हो सबैको प्रतिक्षाको विषय बनेको छ।
पछिल्लो समय खेल हुने नहुने अन्योलकाबीच भएको कूटनीतिक दौडधुपले अन्ततः मैदानमा प्रतिस्पर्धाको ढोका खोलेको हो। यसक्रममा पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले श्रीलङ्काका राष्ट्रपति कुमारा दिसानायकेसँग प्रत्यक्ष संवाद गरेका थिए। आईसीसीले पनि वार्ता सफल र सकारात्मक भएको जनाएको छ।
आईसीसी र पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) बीचको वार्ता इमानदारी, तटस्थता र सहकार्यका आधारमा खेलको सर्वोत्तम हित सुनिश्चित गर्ने उद्देश्यले भएको उल्लेख गरिएको छ। दुवै पक्षले रचनात्मक व्यवहार अपनाउँदै समाधान निकाल्न प्रतिबद्धता देखाएका थिए।
यस्तै भारतमा खेल्न अस्वीकार गर्दै प्रतियोगिता बहिष्कार गर्ने घोषणा गरेको बङ्गलादेशलाई समेत कारबाही नगर्ने निर्णय समेत छ।













