आईसीसी टी–२०अन्तर्गत इटालीसँग टस गुमाएर नेपालले ब्याटिङ गर्दै
  • प्रमुख खबर

माघ २९, काठमाडौं ।।
आईसीसी टी–२० विश्वकपअन्तर्गत समूह ‘सी’ को रोमाञ्चक भिडन्तमा नेपालले इटालीसँग टस गुमाएको छ।

भारतको ऐतिहासिक वानखेडे स्टेडियम, मुम्बईमा इटालीका कप्तान ह्यारी म्यानेन्टीले टस जितेर पहिले बलिङ रोजेका छन्। त्यससँगै आजको खेलमा नेपाल ब्याटिङको चुनौतीसँग मैदान उत्रिएको छ।

बिहीबार(आज)को खेल नेपाली समर्थकका लागि विशेष छ। बायाँहाते स्पिनर ललित राजवंशीले टी–२० विश्वकपमा डेब्यु गर्दैछन्। उनले टोलीमा शेर मल्लको स्थान लिएका हुन्।

विश्वकप जस्तो ठूलो मञ्चमा ललितले कस्तो प्रभाव छोड्छन् भन्ने चासो स्वाभाविक रूपमा बढेको छ। नेपालका लागि यो प्रतियोगिताको दोस्रो खेल हो।

पहिलो खेलमा इङ्ग्ल्यान्डसँग ४ रनको झिनो अन्तरले पराजित भएपछि नेपाल पुनरागमनको लक्ष्यसहित मैदानमा छ।

उता इटाली पनि पहिलो खेलमा स्कटल्यान्डसँग ७३ रनले पराजित भएको थियो। त्यसैले दुवै टोलीका लागि आजको खेल जित्नैपर्ने दबाबमा छ।

समूह ‘सी’ को अंकतालिकामा नेपाल चौथो स्थानमा छ भने इटाली पुछारमा छ। ‘सुपर–एट’ पुग्न समूहका शीर्ष दुई टोलीभित्र अटाउनुपर्ने भएकाले आजको खेलले अंकतालिकामा महत्वपूर्ण मोड ल्याउन सक्छ।

आजै भएको पहिलो खेलमा श्रीलङ्काले ओमानलाई १ सय ५ रनको फराकिलो अन्तरले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ।

यस्तै बेलुकी सवा ७ बजे हुने अर्को खेलमा भारत र नामिबिया आमनेसामने हुँदैछन् । यस संस्करणमा २० टोली चार समूहमा विभाजित छन्।

प्रत्येक समूहका शीर्ष दुई टोली ‘सुपर–एट’ मा प्रवेश गर्नेछन्। त्यहाँबाट चार–चार टोली दुई समूहमा बाँडिएर शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने व्यवस्था छ।

१०औँ संस्करणको फाइनल खेल आउँदो मार्च ८ मा हुने तय भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्