फागुन १२, काठमाडौं ।।
नेपाली महिला फुटबल टोलीका लागि नयाँ अन्तर्राष्ट्रिय अवसर खुला भएको छ। फिफाले,”फिफा सिरिज-२०२६” को खेल तालिका सार्वजनिक गरेसँगै नेपाली महिला फुटबल टोलीका लागि नयाँ अन्तर्राष्ट्रिय अवसर खुला भएको हो।
आगामी अप्रिलमा थाइल्यान्डमा हुने शृङ्खलामा नेपाली महिला टोलीले प्रतिस्पर्धा गर्ने पक्का भएको छ। यसले महिला टोलीलाई विश्व मञ्चमा आफूलाई प्रमाणित गर्ने अर्को अवसर दिनेछ ।
थाइल्यान्डमा आयोजना हुने यस शृङ्खलामा आयोजक राष्ट्र थाइल्यान्ड, नेपाल र कङ्गो सहभागी हुनेछन् । यस्तै यस अन्तराष्ट्रिय प्रतिस्पर्धामा चौथो टोलीको टुङ्गो अझै लाग्न बाँकी छ।
उक्त टोली ओसियाना फुटबल कन्फेडरेसनबाट आउने जनाइएको छ। यस खेलान्तर्गत नेपालले आफ्नो पहिलो खेल अप्रिल १२ मा कङ्गोसँग खेल्नेछ भने दोस्रो खेल अप्रिल १५ मा हुनेछ । तर दोस्रो खेलको लागि प्रतिद्वन्द्वी भने पहिलो खेलको नतिजाले निर्धारण गर्नेछ।
यस्तै फिफा सिरिजमा नेपाली पुरुष टोलीको कुनैपनि खेल भने समावेश गरिएको छैन। त्यसैले यसपटक अन्तर्राष्ट्रिय रंगशालामा नेपालको प्रतिनिधित्व पूर्ण रूपमा महिला टोलीले गर्नेछ।













