फागुन १६, काठमाडौं ।।
निर्वाचन आयोगले फागुन २१ गते बिहीवार हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि आवश्यक पर्नसक्ने प्राथमिक स्वास्थ्य उपचार सेवाका लागि मतदान केन्द्रमा प्राथमिक उपचार सेवा उपलब्ध गराउन निर्देशन दिएको छ । यसका लागि अस्पताल तथा स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न आयोगले ध्यानाकर्षण गराएको हो ।
चुनावमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा मतदान गर्न आउने मतदाता, अशक्त, ज्येष्ठ नागरिकलगायतलाई आवश्यक पर्न सक्ने प्राथमिक स्वास्थ्य उपचार सेवाका लागि व्यवस्था मिलाउन आयोगले आह्वान गरेको हो । आयोगले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् सबै पालिकामा आवश्यक सहयोगका लागि लेखी पठाएको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
साथै अत्यावश्यक तथा आपतकालीन उपचार सेवा उपलब्ध गराउन सक्नेगरी देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा डाक्टर, स्वास्थ्यकर्मी र औषधि तयारी अवस्थामा राख्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा लेखी पठाइएको समेत आयोगले जनाएको छ ।
यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चुनावको समयमा हुन सक्ने सम्भावित दुर्घटना र अन्य आकस्मिक घटनाको जोखिमलाई हेरेर स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले मातहतका निकायलाई तयारी अवस्थामा रहन आग्रह गरेको बताए छ ।












