फागुन २०, काठमाडौं ।।
भोलि हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवा व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको छ।
निर्वाचन अवधिमा हुन सक्ने सम्भावित स्वास्थ्य आपत्कालीन अवस्थाको प्रभावकारी प्रतिकार्य र छिटो समन्वयका लागि मन्त्रालयले विशेष सम्पर्क संयन्त्र तयार पारेको जनाएको छ।
मन्त्रालयद्वारा जारी सूचनाअनुसार सार्वजनिक बिदाको दिन पनि स्वास्थ्य सेवा अवरुद्ध नहोस् भन्ने उद्देश्यले स्वास्थ्य आपत्कालीन कार्यसंचालन केन्द्रका कर्मचारीहरूलाई २४ सै घण्टा सम्पर्कमा रहने व्यवस्था मिलाइएको छ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार
निर्वाचनका क्रममा आइपर्न सक्ने कुनै पनि स्वास्थ्यसम्बन्धी आकस्मिक अवस्थालाई तत्काल सम्बोधन गर्न केन्द्रदेखि सातै प्रदेशसम्म फोकल पर्सन तोकिएको छ।
केन्द्र तहमा ६ जना कर्मचारी तथा मन्त्रालयका प्रवक्तालाई सम्पर्क व्यक्ति निर्धारण गरिएको छ भने सातै वटा प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रमा पनि जिम्मेवारी स्पष्ट रूपमा बाँडफाँट गरिएको मन्त्रालयले जनाएको छ।
निर्वाचन शान्तिपूर्ण, सुरक्षित र स्वास्थ्य दृष्टिले व्यवस्थित रूपमा सम्पन्न गराउने उद्देश्यसहित मन्त्रालयले तयार पारेको यो संयन्त्रले आकस्मिक उपचार, घाइते व्यवस्थापन तथा आवश्यक स्वास्थ्य समन्वयलाई तीव्र र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।












