२१औँ संस्करणको खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप पोखरामा शुरु
  • प्रमुख खबर

चैत्र ५, पोखरा ।।
खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिपको २१औँ संस्करण पोखरामा औपचारिक रूपमा सुरु भएको छ।

नेपाल हवाई खेलकुद संस्थाको आयोजनामा चैत ७ गतेसम्म सञ्चालन हुने यस प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका हुन् ।

उद्घाटन समारोहमा बोल्दै प्रमुख आचार्यले पोखराको पर्यटन क्षेत्रको प्रमुख आधार मानिने प्याराग्लाइडिङलाई निरन्तर सञ्चालनमा राख्न विभिन्न प्रयासहरू भइरहेको जानकारी दिए।

अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका कारण प्रभावित बनेको यस गतिविधिलाई पुनः व्यवस्थित ढंगले सञ्चालन गर्न समाधानमुखी छलफलहरू भइरहेको उनको भनाइ थियो। साथै, पर्यटकहरूको आकर्षणको केन्द्र बनेको यस साहसिक खेललाई अझ व्यवस्थित र सुरक्षित बनाउन व्यवसायीहरूलाई विशेष ध्यान दिन आग्रह गर्दै गुणस्तरीय सेवा सुनिश्चित गर्न निर्देशन पनि दिए।

यस प्रतियोगितामा नेपालसहित भारत, चीन, साउदी अरेबिया, उज्बेकिस्तान, इटाली र लेबनान गरी सात देशका ९० जना पाइलट सहभागी छन् । जसमा १४ जना महिला रहेका छन् भने बाँकी पुरुष खेलाडीहरू छन् ।

प्रतियोगिता एक्युरेसी विधामा आयोजना गरिएको छ । यस प्रतियोगितामा सराङकोटबाट उडान भरेका ग्लाइडरहरू फेवाताल किनारस्थित खपौदीमा अवतरण गर्नेछन्।

पुरुषतर्फ व्यक्तिगत विजेताले १ लाख ५० हजार रुपैयाँ, दोस्रोले १ लाख र तेस्रोले ५० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउनेछन्।

समूहतर्फ पहिलो हुने टोलीलाई ७५ हजार, दोस्रोलाई ५० हजार र तेस्रोलाई २५ हजार रुपैयाँ प्रदान गरिनेछ। महिला तर्फ प्रथम हुनेले ७५ हजार, द्वितीयले ५० हजार र तृतीयले २५ हजार रुपैयाँ प्राप्त गर्ने छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्