चैत ०८, पोखरा ।।
पुस्तक तथा स्टेशनरी व्यवसायलाई मर्यादित बनाउँदै विद्यार्थी तथा अभिभावकलाई सहज वातावरण उपलब्ध गराउने उद्देश्यले पोखरा महानगरपालिका शिक्षा महाशाखाले महत्वपूर्ण सूचना जारी गरेको छ।
महानगरको शिक्षा महाशाखाद्वारा जारी सूचनामा विद्यालय परिसरभित्र पाठ्यपुस्तक, स्टेशनरी तथा पोशाक लगायतका सामग्रीहरूको अवैधानिक बिक्री–वितरण नगर्न/नगराउन स्पष्ट निर्देशन दिइएको छ। साथै, केही विद्यालयहरूले आफ्नै नाममा कपी उत्पादन गरी विद्यार्थीहरूलाई अनिवार्य रूपमा प्रयोग गर्न बाध्य पार्ने वा निश्चित ब्रान्डका सामग्री खरिद गर्न दबाब दिने प्रवृत्तिलाई समेत रोक लगाइएको हो ।
विद्यालयहरूले प्रयोग गर्ने पाठ्यपुस्तकहरू पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत भएको हुनुपर्ने तथा कक्षागत पुस्तक सूची समयमै सार्वजनिक गरी अभिभावक र विद्यार्थीलाई जानकारी दिनुपर्ने व्यवस्था पनि सूचनामा उल्लेख गरिएको छ।
पछिल्लो समय केही विद्यालयहरूले नाफामुखी सोच राख्दै यस्ता गतिविधि सञ्चालन गरेको गुनासो बढ्दै गएपछि महानगरले यस्तो निर्देशन जारी गरेको बुझिएको छ। यसले पुस्तक तथा स्टेशनरी व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउनुका साथै विद्यार्थी तथा अभिभावकलाई अनावश्यक आर्थिक भारबाट जोगाउने अपेक्षा गरिएको छ।
सम्बन्धित निकायको यस कदमलाई व्यवसायी तथा सरोकारवालाहरूले सकारात्मक रूपमा लिएका छन् भने आगामी दिनमा यसको प्रभावकारी कार्यान्वयनमा जोड दिइएको छ।














