चैत्र १५, काठमाडौं ।।
सर्वोच्च अदालतमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई थुनामुक्तको माग गर्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ ।
गैरकानूनी रूपमा पक्राउ गरी थुनामा राखिएको भन्दै ओलीकी श्रीमती राधिका शाक्यले आइतबार(आज) बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी हुन्।
आज दर्ता भएको रिटमाथिको बहस भने भोलि सोमबार हुनेछ । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा ओलीसहित नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई हिजो शनिबार पक्राउ गरेका थिए ।
एमालेले ओली र लेखकको गिरफ्तारी ‘गैरकानुनी’ र पूर्वाग्रही भएको जिकिर गर्दै राजनीतिक र कानुनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ । पक्राउ परेसँगै ओलीलाई त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।












