ललितकलाबाट देश रूपान्तरणको योजना: प्रधानमन्त्री बालेनलाई कलाकार नगेन सिंहको ९ बुँदे प्रस्ताव
  • प्रमुख खबर

चैत्र १७, पोखरा ।।
“विश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउने महाअभियान”का महाअभियन्ता एवं विश्वकला यात्री नगेन सिंह ठकुरीले जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन्।

नेपाललाई विश्वकै ललितकलाको केन्द्र बनाउँदै ‘डायमण्ड युग’मा रूपान्तरण गर्ने लक्ष्यसहित कलाकार ठकुरीले सोमबार ज्ञापन पत्र बुझाएको हो ।

उनले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रमका लागि कास्कीका प्रजिअ मार्फत प्रधानमन्त्री बालेन शाहलाई ज्ञापनपत्र बुझाएको जानकारी दिएका छन्।

उक्त ज्ञापनपत्र बुझ्दै प्रजिअ रुद्रादेवी शर्माले अभियानको प्रशंसा गर्दै कलाकारहरूले देशको संस्कृति, पहिचान, पर्यटन, उद्योग र अर्थतन्त्रमा पुर्‍याएको योगदान उल्लेखनीय रहेको बताइन् ।

उनले सो ज्ञापनपत्र प्रधानमन्त्रीको कार्यालयसम्म पुर्याउने पनि बताइन् । उक्त ज्ञापनपत्र हस्तान्तरण गर्दै अभियानका महाअभियन्ता ठकुरीले नेपाललाई केवल प्राकृतिक सौन्दर्यको मात्र नभई ललितकला र सांस्कृतिक धरोहरको विश्वस्तरीय गन्तव्यका रूपमा स्थापित गर्न सकिने बताए।

उनले कलाकार अरनिकोको युगजस्तै स्वर्णकाल पुनःस्थापना गर्दै नेपालको कला र वास्तुकलालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनुपर्नेमा जोड समेत दिए।

उनले सो ज्ञापनपत्रमा ललितकला क्षेत्रको संस्थागत विकासदेखि नीतिगत सुधारसम्मका ठोस प्रस्तावलाई समेटेका छन् ।

उनले समेटेका प्रस्तावहरुमा :
१. नेपाल ललितकला विकास बोर्ड स्थापना

२. हरेक सरकारी विद्यालयमा अनिवार्य ललितकला शिक्षक

३. हरेक सरकारी कार्यालयमा अनिवार्य कलाकृति राख्ने व्यवस्था

४. ललितकला पर्यटन प्रवर्द्धनमा विशेष प्राथमिकता

५. विज्ञापन बोर्डमा कलाकारको प्रतिनिधित्व सुनिश्चित

६. अन्तर्राष्ट्रिय स्तरको कला पुरस्कार र ललितकला विश्वविद्यालय स्थापना

७. ‘क’ श्रेणीका पत्रिकामा ललितकलाका लागि अनिवार्य एक पृष्ठ

८. कलाकृतिलाई धितो राखेर बैंक ऋण सुविधा र

९. संविधानमै ललितकलालाई राज्यको एक अङ्गको रूपमा समावेश गर्नुपर्ने जस्ता महत्पूर्ण बुँदाहरु छन् ।

कलाकार ठकुरीले सरकारको १०० बुँदे कार्यसूचीले मुलुकमा सुशासन र समृद्धिको नयाँ आशा जगाएको उल्लेख गर्दै त्यसलाई सफल बनाउन ललितकलाको सशक्त भूमिका रहने विश्वास पनि व्यक्त गरे ।

उनीद्वारा जारी ज्ञापनपत्रको अन्त्यमा प्रधानमन्त्रीलाई भावनात्मक अपिल पनि गरिएको छ । उक्त भावनात्मक अपिलमा- “हजुरकै पालामा नेपालले विश्वमा ललितकला ‘डायमण्ड युग’को देश भई हाम्रा सन्ततिले गर्व गर्न सकून्, भनिएको छ ।” विषेशगरी यस अभियानले ‘जय कला क्रान्ति’को नारासहित सांस्कृतिक रूपान्तरणको बहसलाई थप तीव्र बनाएको पनि उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्