चैत्र १८, काठमाडौं ।।
फिफा सिरिज–२०२६ मा नेपाल सहभागी नहुने भएको छ। फिफाको खेल तालिका अनुसार नेपाली महिला राष्ट्रिय टोलीले आगामी अप्रिल १२ र १५ मा थाइल्यान्डमा आयोजना हुने चार राष्ट्र सहभागी सिरिज खेल्ने कार्यक्रम थियो। तर राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट निलम्बनमा परेसँगै अखिल नेपाल फुटबल संघ (एन्फा)ले नाम फिर्ता लिएपछि नेपाली महिला टोली उक्त प्रतियोगितामा सहभागी नहुने भएको हो।
राखेपले ३ महिनाका लागि निलम्बन गरेपछि आफूहरूले नाम फिर्ता लिनुबाहेक अरु उपाय नभएको एन्फाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान तुलाधरले जानकारी दिएक छन् ।
यस फिफा सिरिजका लागि एन्फाले यही चैत ११ गते ३२ जना खेलाडीको प्रारम्भिक टोलीको घोषणा गरेको थियो । सोही दिन नै एन्फालाई राखेपले निलम्बन गरेको थियो । जसकारण खेलाडीहरूको क्याम्प समेत हुन सकेको थिएन । यस सिरिजमा नेपालसहित थाइल्यान्ड, कंगो र अर्काे एक देशले प्रतिस्पर्धा गर्ने तय भएको थियो । तर नेपालले सहभागिता नजनाउने भएपछि अब अर्काे देशले अवसर प्राप्त गर्ने भएको छ ।
यसअघि एन्फा र राखेपको विवाद कारण यसअघि चैत १२ गते दशरथ रंगशालामा हुने भनिएको नेपाल र हङकङबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल पनि स्थगित भएको थियो ।













