आजको मन्त्रिपरिषद्को निणर्य:९ देखि ५ बजेसम्म कार्यालय, सातामा दुई दिन विदा
  • प्रमुख खबर

Oplus_131072

चैत्र २२, काठमाडौं ।।
आइतबार(आज) बसेको मन्त्रिपरिषद् बैठकले सातामा दुई दिन सरकारी विदा दिने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको आजको बैठकले सो निर्णय गरेको हो ।

सरकारले विदाको दिन थपेसँगै कार्यालय समयमा पनि केही परिमार्जन गरिएको छ। नयाँ परिमार्जित समय अनुसार अब सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछन् । तर शैक्षिक संस्थाहरूको हकमा भने यो समय लागू हुने छैन।

त्यस्तै यो विदा सरकारी कार्यालय र शैक्षिक संस्थाको हकमा मात्र लागू हुनेछ । सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले यो निर्णय चैत २३ गतेदेखि लागू हुने जानकारी दिएका छन् । यस्तै उनका अनुसार आजको बैठकले शैक्षिक सत्र २०८३ वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णय भएको छ।

यस्तै आज बसेको मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयअन्तर्गत ‘डिजिटल नेपाल ट्रान्सफरमेसन प्रोजेक्ट’ का लागि एसियाली विकास बैंकबाट ४० मिलियन र विश्व बैंकबाट ५० मिलियन अमेरिकी डलर गरी जम्मा ९० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको छ।

त्यसैगरी, ‘दिगो र समावेशी वित्त परियोजना’ का लागि विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर बराबरको ऋण पनि सरकारले स्वीकार गर्ने भएको छ।

यस्तै वातावरण संरक्षण र इन्धन खपत कम गर्ने उद्देश्यले डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्न आवश्यक कानुनी व्यवस्था मिलाउने निर्णय समेत सरकारको आज बसेको मन्त्रिपरिषद्को बिठकले गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्