वैशाख ७,काठमाडौं।।
जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिन सुनिश्चित गर्न उनलाई तत्काल पदबाट हटाउन सरकारसँग जोडदार माग गरेको छ।
सोमबार प्रवक्ता विजय शाहद्वारा जारी प्रेस वक्तव्यमा मन्त्री पदमा बहाल रहँदा अनुसन्धान प्रक्रिया प्रभावित हुने र यसले स्पष्ट रूपमा स्वार्थको द्वन्द्व सिर्जना गर्ने उल्लेख गरिएको छ। वक्तव्यमा भनिएको छ।आफ्नैविरुद्धको छानबिनमा मन्त्री पदमै रहनु आधारभूत नैतिकता र कानुनी सिद्धान्तविपरीत हुने भएकाले निष्पक्ष न्यायका लागि गुरुङको पदत्याग अनिवार्य छ।
मुभमेन्टले सरकारलाई मन्त्री नियुक्ति र बर्खास्तीलाई ‘कच्चा र अमर्यादित खेल’ नबनाउन पनि सचेत गराएको छ। क्याबिनेट गठन जस्तो संवेदनशील विषयमा परिपक्वता, दूरदर्शिता र जवाफदेहिता आवश्यक रहेको उल्लेख गर्दै नेतृत्वले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ।
वक्तव्यमा भनिएको छ, “यो कुनै साधारण सरकार होइन, यो ७६ जना शहीदहरूको रक्तबलिदानबाट प्राप्त जनादेशको प्रतिनिधित्व हो। जनताको त्याग र बलिदानमाथि सस्तो राजनीति गर्ने अधिकार कसैलाई छैन।”यसैबीच, विवादास्पद व्यापारी दीपक भट्टसँग गुरुङको साझेदारी रहेको विषय सार्वजनिक भएपछि उनीमाथि विवाद चुलिएको छ। जेनजी मुभमेन्टले सुशासन, पारदर्शिता र जवाफदेहितामा कुनै सम्झौता स्वीकार्य नहुने चेतावनी समेत दिएको छ।













