वैशाख ७, काठमाडौं ।।
विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले छलफल गर्ने भएका छन् । छलफल सोमबार(आज) दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुनेछ ।
प्रधानमन्त्री स्वयम कुलपति हुने व्यवस्था रहेको ११ वटा विश्वविद्यालय र ७ वटा प्रतिष्ठानका उपकुलपतिहरूलाई छलफलको लागि बोलाइएको हो ।
आज हुने यस छलफल कार्यक्रममा विषेशगरी विश्वविद्यालय र प्रतिष्ठानहरुका समसामयिक समस्या र समाधानका उपायहरूबारे विमर्श हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपतिहरु पनि उपस्थित हुनेछन् ।
यस्तै कृषि तथा वनविज्ञान विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपतिहरूसँग पनि तत्कालै समाधान गर्न सकिने समस्या र अन्य महत्त्वपूर्ण विषयमा
छलफल हुने बताइएको छ।
यसैगरी आजै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरुसँग पनि छलफलको कार्यक्रम राखिएको छ ।













