जेठ ३१, काठमाडौं ।।
भारतले नेपाली चिया निर्यातमा अवरोध खडा गरेपछि इलामका चिया उद्योगहरू बन्द हुने भएका छन् । त्यहाँका उद्योगीहरुले असार १ गते भोलिदेखि उद्योग बन्द गर्ने निर्णय गरेका हुन्।
चिया क्षेत्रमा उत्पन्न गम्भीर संकट र उद्योग सञ्चालन असम्भव बन्दै गएको भन्दै सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले उद्योग बन्दको घोषणा गरेको हो।
एसोसिएसनका अनुसार भारतले खडा गरेको अवरोधका कारण निर्यातमा देखिएको समस्याले चिया उद्योग नै धराशायी हुने जोखिम बढेको छ।
विषेशगरी भारतीय चिया बोर्डले हालै जारी गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’(एसओपी)का कारण नेपाली चिया निर्यातमा ठूलो बाधा पुगेको छ ।
जटिल गुणस्तर जाँच, अपारदर्शी नतिजा र भण्डारणको अभाव जस्ता समस्याले गर्दा ठूलो परिमाणमा तयारी चिया थन्किएको हो ।
अहिले भारतीय गोदाममा करिब २ लाख किलोभन्दा बढी तयारी चिया रोकिएको छ भने नेपालका उद्योगहरूमा १० लाख किलोभन्दा बढी तयारी चिया थन्किएर बसेको एसोसिएसनका अध्यक्ष डिल्ली श्रेष्ठले जानकारी दिएका छन्।
उनका अनुसार भारतीय चिया बोर्डले परीक्षणका लागि लगेको नमुनाको रिपोर्ट महिनाौंसम्म नदिने र रिपोर्टमा गुणस्तरहीन देखिएमा उक्त चियालाई भारतीय गोदाममै नष्ट गर्नुपर्ने जस्ता अव्यावहारिक नियमहरू थपेकोले उद्योगीहरूको समस्यामा रहेको बताए ।
यही कारण पनि उद्योगहरू असार १ गते देखि बन्द गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको उनले बताए।









