“यति ठूलो हृदय रवि लामिछानेसँग मात्रै छ।म त्यति महान् छैन”- रमेश प्रसाईँ
  • प्रमुख खबर

अषाढ ९,काठमाडौँ।।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहप्रवक्ता रमेश प्रसाईँले पार्टी सभापति रवि लामिछानेले महाधिवेशनमा नेपाली कांग्रेसका सभापति गगन थापालाई आमन्त्रण गरेर उच्च राजनीतिक चरित्र प्रदर्शन गरेको बताएका छन्।

महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रसाईंले रास्वपाको लडाइँ गगन थापा र विश्वप्रकाश शर्मा जस्ता नयाँ पुस्ताका नेतासँग नभएको स्पष्ट पारे। उनका अनुसार, “गगन थापालाई आमन्त्रण गरेर हाम्रो पार्टी सभापतिले र महाधिवेशनमा सहभागी भएर गगन थापाले उच्च राजनीतिक चरित्र देखाउनुभयो। उहाँले हामी तपाईँहरूको दुश्मन होइन भन्नुभयो।”

तर, उनले विगतमा आफूहरूप्रति देखाइएको व्यवहारप्रति असन्तुष्टि जनाउँदै भने, “गगन थापा र विश्वप्रकाशहरूको पुस्तासँग हाम्रो लडाइँ कहिल्यै थिएन। तर पुरानो प्रवृत्तिविरुद्ध हामी लड्दा उहाँहरूको तर्फबाट हामीप्रति देखाइएको व्यवहार कुनै दुश्मनभन्दा कम थिएन।

प्रसाईंले थपे कि पार्टी सभापति रवि लामिछानेले विशाल हृदय देखाउँदै विगतका वैमनस्यता अन्त्य गरी राष्ट्रिय मुद्दामा सहकार्य गर्नुपर्ने सन्देश दिएका छन्। “यति ठूलो हृदय रवि लामिछानेसँग मात्रै छ। म त्यति महान् छैन, म साधारण व्यक्ति हुँ। म गगन थापालाई व्यक्तिगत रूपमा आज पनि क्षमा गर्न सक्दिनँ,” उनले स्पष्ट पारे।

उनले रास्वपा भ्रष्टाचार र परिवारवादविरुद्ध निर्मम ढङ्गले अघि बढ्ने पनि बताए। साथै, सरकारले सहकारी पीडितहरूलाई धमाधम बचत फिर्ता गरिरहेको दाबी गर्दै उनले सहकारीहरूको ऋण असुली गरेर रकम फिर्ता गरिएको जिकिर गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्