मानव सेवा आश्रमले महायज्ञबाट संकलन गर्यो ३ करोड ८१ लाख
  • प्रमुख खबर

साउन १८, पोखरा ।।
मानवसेवा आश्रमले बैशाख १९ देखि २६ गतेसम्म पोखरा- २५ हेमजामा आयोजना गरेको श्रीमद्भागवत सप्ताह ज्ञान-विज्ञान महायज्ञको आयव्यय विवरण सार्वजनिक गरेको छ । आश्रमले सोमबार(आज) पत्रकार सम्मेलनको आयोजना गर्दै महायज्ञको आय व्यय विवरण सार्वजनिक गरेको हो ।

महायज्ञबाट कुल ३ करोड ८१ लख ७१ हजार ७ सय ७१ रुपैयाँ ५३ पैसा संकलन भएको महायज्ञ मुल आयोजक समिति संयोजक अनित कुमार शाहीले जानकारी दिएका छन् । जसमध्य ७७ लाख १२ हजार ५ सय ८७ रुपैयाँ खर्च भएको उनले बताए।

महायज्ञमा संकलित भएको रकम विभिन्न माध्यमबाट प्राप्त भएको उनले बताए । जसमा २ करोड २४ लाख ७९ हजार १ सय ६३ रुपैयाँ नगद प्राप्त भएको, १ करोड ४२ लाख ५ हजार ९ सय ८६ रुपैयाँ नगद नै दान गरेको, ६० लाख ५५ हजार ३ सय ५६ रुपैयाँको चेक प्राप्त भएको र क्यूआरमार्फत २२ लाख १७ हजार ८ सय २१ रुपैयाँ प्राप्त भएको संयोजक शाहीले बताए ।

यस्तै महायज्ञमा १ करोड ४४ लाख ४० हजार व्यक्ति र संघसंस्थाबाट दिने प्रतिवद्धता जनाइएको समेत उनले बताए । जसमा १ करोड ९ लाख ३९ हजार १ सय ७९ रुपैयाँ व्यक्तिगत प्रतिवद्धता आएको, २ लाख ८८ हजार ३ सय ४२ रुपैयाँ संस्थागत प्रतिवद्धता र स्थानिय तहहरुले ३२ लाख १३ हजार ३ सय ३३ रुपैयाँ प्रतिबद्धता जनाएको संयोजक शाहीले जानकारी दिए । त्यसबाहेक ७ लाख ८१ हजार ३ सय ९५ रुपैयाँ बराबरको जिन्सी सामान प्राप्त भएको जनाइएको छ ।

त्यस्तै दान पेटिकामा ४ लाख २२ हजार ५ सय ७३ रुपैयाँ, गोप्य दानबाट ११ हजार ६ सय १० रुपैयाँ र व्याजबाट २६ हजार ६ सय ७ रुपैयाँ प्राप्त भएको पनि उनले उल्लेख गरे। आयोजकका अनुसार महायज्ञबाट बचत भएको रकम पोखरा–२५ हेमजास्थित मानव सेवा आश्रमको भवन निर्माणार्थ खर्च गरिने आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए ।

महायज्ञ भवन निर्माणसँगै लक्ष्मीनारायण मन्दिर र मुक्तिनाथ सेवा धर्मशाला निर्माण सम्पन्न गर्ने तथा आश्रम सञ्चालनका लागि अक्षयकोष निर्माण गर्ने उद्देश्यले गरिएको र बचत रकम सोहि प्रयोजनार्थ खर्च गरिने उनले स्पष्ट पारे ।

वि.सं. २०६९ सालमा मकवानपुरको हेटौंडाबाट शुरु भएको यस आश्रमले हाल देशको सात वटै प्रदेशका २१ जिल्लाबाट ३४ सेवा आश्रममार्फत सेवा प्रदान गर्दै आएको छ । जहाँ २ हजार ३ सय ७२ जना आश्रित रहेका छन् ।

संस्थाले हालसम्म करीब १४ हजार जना सडकआश्रितको उद्धार गरिसकेको बताईन्छ । जसमध्य ५ हजार ८ सय ६१ जना पारिवारिक पुनर्मिलन भएर घर फर्किएका छन् भने १ हजार ८१ जना सामुदायिक पुर्नस्थापना भएको जनाइएको छ । आश्रममा पुगेकामध्ये १ हजार ७ सय ५६ जनाको निधन भइसकेको छ ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्