यी स्थानहरूमा छन् राजमार्ग अवरुद्ध
  • प्रमुख खबर

साउन २७, काठमाडौँ।।

लगातारको वर्षासँगै आएको बाढी र पहिरोले देशभरका प्रमुख राजमार्गहरू प्रभावित बनेका छन्। बुधबार बिहान ६ बजेसम्मको अद्यावधिक विवरणअनुसार विभिन्न प्रदेशका दर्जनभन्दा बढी सडक खण्ड पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्। जोखिम बढेपछि बागमती प्रदेशमा बीपी राजमार्ग र कान्ति लोकपथमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ।

काभ्रेपलाञ्चोकको बीपी राजमार्गमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालन बन्द गरिएको छ भने बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म अवस्था हेरेर सञ्चालन गर्न दिइनेछ। मकवानपुर–ललितपुर जोड्ने कान्ति लोकपथमा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म अर्को सूचना नभएसम्म सवारी सञ्चालन निषेध गरिएको छ।

सिन्धुपाल्चोकको चारकिलो, कोदारी र लिपिङ क्षेत्रमा पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रूपमा बन्द भएको छ। रसुवाको खाल्टे क्षेत्रमा आएको बाढीले त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक अवरुद्ध बनेको छ र सडक खुल्न समय लाग्ने जनाइएको छ।

कोशी प्रदेशमा इलामको राजदुवाली क्षेत्रमा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ भने भोजपुरको बोखिममा मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा छ। गण्डकी प्रदेशमा बागलुङको बेलबगर र लमजुङको बिमिरेभञ्ज्याङमा पहिरोका कारण कालीगण्डकी करिडोर तथा मध्यपहाडी लोकमार्ग एकतर्फी मात्र सञ्चालन भइरहेका छन्।

यस्तै, कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित रिजेगार्ड खोलामा आएको बाढीले भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा यात्रुहरू समस्यामा परेका छन् भने सम्बन्धित निकायहरूले सडक खुलाउने प्रयासलाई तीव्र बनाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्