विद्यालय बस दुर्घटनाको विषयलाई लिएर पोखरा महानगरले गठन गर्यो छानबिन समिति
  • प्रमुख खबर

असोज २३, पोखरा ।।
पोखरा महानगरपालिकाले विद्यालय बस दुर्घटनाको विषयलाई लिएर छानबिन गर्न समिति गठन गरेको छ ।महानगरले वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो ।

समितिको सदस्यहरुमा मेकानिकल इन्जिनियर सरोज चालिसे, महानगर शिक्षा समिति सदस्य डोलराज पाण्डे, नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापा र ट्राफिक सहायक निरीक्षक अमृत भट्टराई छन् ।

समितिलाई महानगरले दुर्घटनाको कारण र घटनासँग सम्बन्धित विषयहरूको विस्तृत अध्ययन तथा छानबिन गरी सत्य तथ्यसहित ५ दिन भित्र प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ ।

यसैबीच विद्यालयका सवारीसाधनको सुरक्षा, विद्यार्थीको सुरक्षित आवागमन र आगामी दिनमा अपनाउनुपर्ने सावधानीका सम्बन्धमा आवश्यक सुझावसमेत प्रस्तुत गर्न भनिएको छ।

महानगर प्रमुख धनराज आचार्यले सामाजिक सञ्जालमार्फत विद्यार्थीको सुरक्षा हाम्रो साझा जिम्मेवारी भएको भन्दै यस्ता दुःखद घटना पुनः दोहोरिन नदिन विद्यालयका सवारीसाधनको नियमित जाँच, सुरक्षा मापदण्डको कडाइका साथ पालना र प्रभावकारी अनुगमन गर्न सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएका छन् ।

यस्तै उक्त दुर्घटनालाई लिएर आचार्यले दुःख व्यक्त गर्दै ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना समेत व्यक्त व्यक्त गरेका छन्। उनले घाइते सम्पूर्ण विद्यार्थी, चालक तथा सहचालकको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।

आज बिहान पोखरा- २८, माझठानाबाट कालिका बोर्डिङ स्कुलको विद्यार्थी बोकेर आउँदै गरेको ग २ ख १४१७ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा परि विद्यार्थी, चालक तथा सहचालक गरी २२ जना सवार रहेकोमा ५ जनाको ज्यान गुमेको छ भने अन्य घाइते छन् । घाइते सबैको हाल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्