गण्डकी प्रदेश सरकारलाई गण्डकीका सामुदायिक रेडियोहरुको ध्यानाकर्षण पत्र
  • प्रमुख खबर

पोखरा ।।

सामुदायिक रेडियो प्रशारक संघ नेपाल गण्डकी प्रदेशले सामुदायिक रेडियोहरुको संरक्षण र प्रवद्र्धनका लागि अनुरोध गर्दै गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।
गण्डकी प्रदेश सरकारको आगामी नीति, कार्यक्रम तथा बजेटमा नीतिगत र कार्यक्रमगत रूपमा समेट्नुपर्ने विषयहरु राखि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई अकोराब गण्डकीले ध्यानाकर्षण पत्र बुझाएको हो ।

 

प्रदेशमा सञ्चालित सम्पूर्ण सामुदायिक रेडियोहरूको तर्फबाट सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपाल गण्डकी प्रदेश समितिले प्रदेश सरकार समक्ष बुझाएको ध्यानाकर्षण पत्रमा सामुदायिक हित र सेवाको निम्ति स्थापना भएका प्रदेशका सामुदायिक रेडियोहरुले नागरिकको हित र सशक्तीकरणको लागि प्रदेश सरकारसँग सहकार्य गर्न सधैँ तत्पर रहने उल्लेख गरिएको छ ।

प्रदेशभित्र रहेका सामुदायिक रेडियोको पूर्वाधार विकास, अप्ठ्यारोमा परेका रेडियोको लागि उपकरण खरिदमा अनुदान, ट्रान्समिटर लगायत रेडियो उपकरणको विमा, विद्युत महशुलमा अनुदान, रेडियो पत्रकारिता सम्बन्धी तालिम तथा जागरण कार्यक्रम र दक्ष जनशक्ति उत्पादनका लागि तालिम एवं कार्यशाला सञ्चालन गर्न विशेष सहयोग उपलब्ध गराउन माग गर्दै अकोराब प्रदेश समितिले मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको हो ।
रेडियोबाट विज्ञापन, जनहितका सन्देश, कार्यक्रम उत्पादन र प्रसारण गर्ने सन्दर्भमा समानुपातिक विज्ञापन नीति निर्माण गर्न साथै नीति निर्माण गर्दा महिला, दलित, आदिवासी, जनजाति, मुस्लिम, अल्पसङ्ख्यक समुदायको समेत सहभागितामा सञ्चालित सामुदायिक रेडियोको हकमा विशेष सहुलियत उपलब्ध गराउन उक्त ध्यानाकर्णण पत्रमा आग्रह गरिएको छ ।
अकोराब गण्डकी प्रदेशका अध्यक्ष ओमकार आचार्य नेतृत्वको टोलीले मंगलवार गण्डकी मूख्यमन्त्रीलाई पाण्डेलाई भेटेर ध्यानाकर्षण गराएको हो ।

 

प्रदेश अध्यक्ष आचार्य, उपाध्यक्ष शान्ता थापा, सचिव मोतिसागर अधिकारी, कोषाध्यक्ष तीर्थ केसी लगायतको टोलीले मुख्यमन्त्री पाण्डेलाई आगामी वजेट मार्फत् समुदायको आवाजलाई सधै मुखरित हुने वातावरण निर्माण गरिदिन आग्रह गरेका थिए । ध्यानाकर्षण पत्र बुझ्‌दै मुख्यमन्त्री पाण्डेले आगामी वजेटमा रेडियोको माग सकेसम्म सम्बोधन गर्ने प्रतिवद्धता जनाएका थिए । उनले प्रदेश सरकार रेडियोमार्फत नागरिकसमक्ष पुग्ने विषय र अकोराव गण्डकीको माग एवं सहकार्य प्रस्तावप्रति सकारात्मक रहेको धारणा व्यक्त गरेका थिए ।

 

यसैवीच सामुदायिक रेडियो प्रशारक संघ नेपाल गण्डकी प्रदेश समितिको वैठक मंगलवारै पोखरामा सम्पन्न भएको छ । प्रदेश अध्यक्ष ओमकार आचार्यको अध्यक्षतामा वसेको उक्त वैठकले रेडियो गोरखाका विकास मरहट्टा र रेडियो लेखनाथको रञ्जना जिसीलाई प्रदेश सदस्य पदमा मनोनित गर्ने लगायतका विभिन्न निर्णयहरु गरेको प्रदेश सचिव मोतिसागर अधिकारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्