मन्त्री महावीर पुन सिंहदरबार सरे,शिक्षा मन्त्रालय फेरि मूल भवनमा फर्कियो
  • प्रमुख खबर

कार्तिक १६, काठमाडौं

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन सिंहदरबारस्थित मन्त्रालयमा सरेका छन् । मन्त्रालयका अनुसार मन्त्री पुन आइतबारदेखि सिंहदरबारमै कार्यरत भएका हुन् ।

मन्त्री पुनले हालसम्म बस्दै आएको केशरमहलबाट आफ्नो सामान सिंहदरबार सारिएको मन्त्रालय स्रोतले जनाएको छ । गत ६ असोजमा मन्त्री बनेका पुन ७ असोजदेखि केशरमहलमै बस्दै आएका थिए ।

जेन–जी आन्दोलनका क्रममा सिंहदरबारभित्र रहेको शिक्षा मन्त्रालयमा आगजनी भएपछि मन्त्रालयलाई अस्थायी रूपमा केशरमहलमा सारिएको थियो । अहिले सिंहदरबारमा पुनः कामकाज सुचारु हुन थालेपछि मन्त्री पुन पनि त्यहाँ सरेका हुन् ।

मन्त्रालयले मन्त्री पुनको बसोबासको व्यवस्था सिंहदरबार परिसरमै मिलाएको जनाएको छ । तर, सिंहदरबारमा अझै मर्मतसम्भारका केही काम बाँकी रहेकाले केही प्रशासनिक कार्य केशरमहलबाट पनि सञ्चालन हुने बताइएको छ ।

मन्त्रालयका अनुसार निकट भविष्यमा सम्पूर्ण काम सिंहदरबारबाटै सञ्चालन गर्ने तयारी भइरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्