कार्तिक २०, पोखरा ।।
पोखरा महानगरपालिका लगायत देशभरका बालबालिकाहरुलाई लक्षित गर्दै बिहीबार(आज)देखि राष्ट्रिय भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने दुईदिने अभियान सुरु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा सुरु गरिएको यस अभियान अन्तर्गत पाँच वर्षमुनिका बालबालिकालाई पोषणीय तत्वको पूर्तिका लागि भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइँदैछ।
स्वास्थ्य सेवा विभागका अनुसार यस अभियानमा देशभर करिब २८ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र ३० लाख बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखिएको छ।
अभियान अन्तर्गत ६ महिनादेखि ११ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ मात्र र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधि खुवाइनेछ।
देशकै ठूलो पोखरा महानगरपालिकामा पनि आजदेखि यो अभियान सुरु गरिएको छ।
महानगरको स्वास्थ्य महाशाखाका प्रमुख भरतराज पौडेलका अनुसार पोखरा मात्रै ३७ हजार ५ सय ४५ बालबालिकालाई भिटामिन ‘ए’ र ३३ हजार १ सय २५ बालबालिकालाई जुकाको औषधि खुवाउने तयारी गरिएको छ।
यस राष्ट्रव्यापी अभियान अन्तर्गत पोखरा महनगरपालिकाका प्रमुख धनराज आचार्यले पनि सम्पूर्ण पोखरावासी अभिभावकलाई आफ्ना बालबालिकालाई नजिकको स्वास्थ्य चौकी वा खोप केन्द्रमा लगेर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन आग्रह गरेका छन् ।
स्वास्थ्यकर्मी, महिला समुदाय स्वास्थ्य स्वयंसेवक र स्थानीय स्वास्थ्य संस्था मार्फत देशका सबै वडामा भिटामिन ‘ए’ वितरण कार्य जारी रहेको छ।
बालबालिकाको प्रतिरोधात्मक शक्ति वृद्धि गर्न र जुकाको समस्या नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालयले यो अभियान वर्षमा दुई पटक, चैत र कार्तिकमा सञ्चालन गरिँदै आएको छ।












