इन्जिनियरिङ शिक्षाको शुल्क वृद्धिको विरोधमा नेवि संघले बालुवाटार घेराउ गर्ने
  • प्रमुख खबर

काठ्माण्डौं ।।

नेपाल विद्यार्थी (नेवि) संघले इन्जिनियरिङ शिक्षाको शुल्क वृद्धिको विरोधमा बालुवाटार घेराउ गर्ने भएको छ । संघले आज एक विज्ञप्ति जारी गर्दै आइतबार शुल्क वृद्धिको विरोधमा बालुवाटार घेराउ गर्ने भएको जनाएको छ । इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहमा गरेको शुल्क वृद्धिको विरोधमा आइतबार विहान १० बजे बालुवाटार घेराउ गर्ने कार्यक्रम राखिएको संघका अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिएका छन् ।

नेवि संघले जारी गरेको विज्ञप्तिमा, सर्वसुलभ उच्च शिक्षा नागरिकको अधिकार र राज्यको दायित्व भएको तर पछिल्लो समय इन्जिनियरिङ शिक्षा महंगो हुँदा गरिब तथा जेहेन्दार विद्यार्थीहरु अध्ययनबाट वञ्जित हुने भएकोले शुल्क वृद्धिको निर्णय निन्दनीय छ, भनिएको छ । शुल्क वृद्धि फिर्ता लिनुपर्ने माग गर्दै नेविसंघका नेता सुलभ चापागाई पाँच दिनदेखि आमरण अनशनमा छन् ।

नेविसंघले उनको जीवन रक्षाको पनि माग गरेको छ ।नेविसंघले सबै विश्वविद्यालयमा इन्जिनियरिङ शिक्षाको एकै मापदण्ड तय गरी एकरुपता ल्याउनुपर्ने र इन्जिनियरिङ अध्ययन संस्थानले हालै गरेको शुल्कवृद्धि फिर्ता लिनुपर्ने माग गरेको छ ।

त्यस्तै त्रिभुवन विश्वविद्यालय र इन्जिनियरिङ अध्ययन संस्थानलाई सेन्टर अफ एक्सिलेन्सको रुपमा स्थापित गरी अनुदान बढाउनुपर्ने, सबै विश्वविद्यालयमा इन्टर्नसिप, रोजगारी सुनिश्चितता र रिसर्चको व्यवस्था गर्नुपर्ने पनि नेविसंघले माग गरेको छ ।नेविसंघले विद्यार्थीको विदेश पलायनलाई राष्ट्रिय संकट घोषणा गर्नुपर्ने माग पनि गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्