असोज ७ देखि चाडबाड लक्षित सहुलियत मूल्य पसल सञ्चालनमा आउने
  • प्रमुख खबर

पाेखरा ।।
आगामी असोज ७ देखि चाडबाड लक्षित सहुलियत मूल्य पसलहरु सञ्चालनमा आउने भएका छन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलेद्वारा नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र दुग्ध विकास संस्थानलाई परिपत्र गर्दै चाडबाड लक्षित सहुलियत पसल सञ्चालन गर्न भनेको हो ।

४२ जिल्लाका ६१ स्थानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत मूल्य पसल सञ्चालन गर्नेछ ।

सहुलियत मूल्य पसलमा सबै किसिमको चामलमा प्रतिकिलो रु पाँच छुट पाइने छ ।

कर्णालीका रैथाने उत्पादनहरु जुम्ली मार्सी चामल, कागुनो, चिनो, कर्णालीको सिमी, उवा र तितेफापरमा प्रतिकिलो सात रुपैयाँ छुट पाइने छ ।

त्यस्तै विभिन्न प्रकारका दाल तथा गेडागुडीमा प्रतिकिलो पाँच रुपैयाँ, गहुँको पिठो, चिउरा, चिनी, गहुँलगायत वस्तुमा प्रतिकिलो सात रुपैयाँ, सनफ्लावर, भटमास तथा तोरीको तेलमा प्रतिलिटर सात रुपैयाँ र डिडिसी घ्यूमा प्रतिलिटर दश रुपैयाँ छुटकाे व्यवस्था मिलाइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ ।

काठ्माण्डाैं बाहेक विभिन्न २२ जिल्लामा पनि साल्ट ट्रेडिङले सहुलियत सुविधा उपलब्ध गराउने भएको छ ।

साल्ट ट्रेडिङले पनि नूनमा प्रतिकिलो दुई रुपैयाँ, चिनीमा प्रतिकिलो पाँच रुपैयाँ, तेलमा प्रतिलिटर सात रुपैयाँ र चिउरा, पिठो तथा मैदामा प्रतिकिलो सात रुपैयाँ छुट दिने भएको छ ।

चाडपर्व लक्षित सहुलियत मूल्य पसलबाट उपलब्ध गराइने वस्तु तथा सोको मूल्य बिक्रीकक्ष बाहिर सबैले देख्ने गरी राख्नुपर्ने मन्त्रालयले जनाएको छ ।

विशेषगरी यस्ता पसलबाट गुणस्तरीयता कायम गर्दै
बजार मूल्य नियन्त्रण गरि सरल र सर्वसुलभ रुपमा खाद्यान्न उपलब्ध गराउने उद्देश्य सरकारले राखेको छ ।

चाडबाडको समयमा उपभोक्ता बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन भन्दै सरकारले प्रतेक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्