पाेखरा ।।
पोखरा नेपाली नाट्य जगतका लागि एक महत्त्वपूर्ण केन्द्र हो। यहाँको सांस्कृतिक विविधता, प्राकृतिक सौन्दर्य, र पर्यटनको आकर्षणले पोखरालाई नाटक र रंगमञ्चको लागि उपयुक्त स्थान बनाएको छ। यही विशेषतालाई ध्यानमा राख्दै पाेखरा अन्तर्राष्ट्रिय नाटक महाेत्सव-२०८१ हुने भएको छ ।
पर्यटनको राजधानी पाेखरालाई अन्तर्राष्ट्रिय सांस्कृतिक तथा नाट्य पर्यटनकाे केन्द्रका रुपमा स्थापित गर्ने उद्देश्यले पोखरा थिएटरकाे आयोजनामा उक्त महाेत्सव हुन लागेकाे हाे ।
महाेत्सव चैत ९ देखि १२ गतेसम्म सञ्चालन हुनेछ । यस महोत्सवमा नेपालसहित चीन, ट्युनिसिया, नर्वे, जापान गरि पाँच देशका छ वटा नाटकहरु मञ्चन हुनेछन् ।
ती विभिन्न देशका नाटकहरुमा साँस्कृतिक तथा विविध नाट्य अनुभव आदान प्रदान गर्ने, फोरम थिएटर र कार्यशालाहरुमा कलाकार,रंगकर्मी,पर्यटन व्यवसायी र संस्कृतिप्रमीहरुसंग अन्तक्रिया गर्ने, खुल्ला छलफल तथा संवाद कार्यक्रममा संस्कृतिकर्मी, पर्यटन व्यवसायी तथा नाट्यप्रेमीहरुका विषेश सेसनहरुमा छलफल समेत हुने सांस्कृतिक तथा पर्यटन प्रवद्धन संवाद कार्यक्रममा पोखरालाई सांस्कृतिक गन्तव्यका रुपमा अन्तर्राष्ट्रियकरण गर्ने आयोजकले जनाएको छ ।
यस्तै महोत्सवमा उद्घाटन नाटकका रुपमा पोखरा थियटरले तयार गरेको ‘मुना मदन’ मञ्चन हुनेछ । साेही दिन साँझ इन्द्रेणी थियटरको प्रस्तुतिमा ‘इम्ब्रोनिक’ नाटक देखाइनेछ ।
चैत १० गते दाेस्राे दिन ‘द स्टेज इज कलिङ यु’ शीर्षकमा कलाकारहरु दिया मास्के र प्रकाश घिमिरेसँग संवाद हुनेछ । सोही दिन साँँझ ट्युनिसियाको नाटक मञ्चन हुनेछ ।
तेस्राे दिन चैत ११ गते चीनको मिनी ओपेरा देखाइने छ भने साँझ पोखरा सांस्कृतिक पर्यटनको केन्द्र कसरी हो भन्ने विषयमा पोखरा महानगरका प्रमुख धनराज आचार्य र संस्कृतिकर्मी तीर्थ श्रेष्ठसँग संवाद कार्यक्रम तय गरिएको छ ।
महोत्सवको अन्तिम दिन चैत १२ गते जापानको नाटक ‘मास्टर सोको एण्ड मार्गरिटा’ देखाइनेछ र साँझ नेपाली र नर्वेली कलाकारहरुले अभिनय गरेको नाटक ‘द रोज’ मञ्च हुनेछ ।
आयाेजका अनुसार यस महाेत्सव आयाेजना गर्न ३० लाख खर्च हुने समेत जनाएको छ । पोखरा थिएटर गण्डकी प्रदेशको एक प्रमुख सांस्कृतिक केन्द्र हो।
यो थिएटरले पोखराको कला, साहित्य, र संस्कृति जगेर्ना गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।
वि.सं २०७४ सालमा स्थापना भएको यस पाेखरा थिएटरले विभिन्न नाटक मञ्चन, विद्यालय नाटक महोत्सव र रंगमञ्चीय प्रशिक्षणहरू आयोजना गर्दै आएको छ ।
यस थिएटरले स्थानीय कलाकारहरूलाई प्रोत्साहन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका नाटकहरू पनि प्रस्तुत गरेको छ।
वि.स २०७५ मा पहिलो पटक यस थिएटरले पोखरा अन्तराष्ट्रिय नाटक महाेत्सव आयोजना गरेको थियो । त्यस समय नेपाल, भारत, मेसेडोनिया लगाएतका विभिन्न देशहरुबाट कलाकारहरुको उपस्थिती समेत रहेको थियो ।