भाद्र २६, काठमाडौं ।।
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको हालको विषम परिस्थितिबाट संवैधानिक दायरामै रहेर समाधान निकाल्ने आफ्नो प्रतिबद्धता दोहोर्याएका छन् ।
बिहीबार(आज) एक विज्ञप्ति मार्फत उनले लोकतन्त्रको रक्षा र शान्ति–सुव्यवस्था कायम गर्न निरन्तर प्रयासरत रहेको बताएका हुन्।
“देशमा सिर्जित परिस्थितिबाट संवैधानिक बाटो अपनाएर कसरी निकास दिन सकिन्छ भन्नेबारे विचार–विमर्श र सम्भावित पहलमा म संलग्न छु,” विज्ञप्तिमा भनिएको छ।
जेनजी आन्दोलन तीव्र बनेपछि सुरक्षाका कारण शीतल निवासबाट नेपाली सेनाको सहयोगमा बाहिरिएका राष्ट्रपति पौडेल त्यसयता सार्वजनिक रूपमा देखिएका छैनन्।
यद्यपि उनले विज्ञप्तिमार्फत आन्दोलनकारी तथा सम्पूर्ण नागरिकलाई संयमित रहन र शान्ति कायम गर्न आग्रह गरेका छन् ।
राष्ट्रपतिले आन्दोलनकारीको माग सम्बोधन गर्न द्रुत समाधानको खोजी भइरहेको भन्दै सबै पक्षलाई विश्वास दिलाएका छन्।
उनले नागरिकको आवाज सुन्ने प्रक्रिया अघि बढेको र समस्याको समाधान छिटो निकालिनेमा पनि विश्वस्त रहन आग्रह गरेका छन्।











