छोरेपाटन मा.वि भू.पू विद्यार्थी मञ्चको नयाँ नेतृत्व चयन, अध्यक्षमा शालिकराम भण्डारी
  • प्रमुख खबर

पौष ५, पोखरा ।।
पोखरा–१७, छोरेपाटनमा अवस्थित छोरेपाटन माध्यमिक विद्यालय भू.पू विद्यार्थी मञ्चको दोस्रो वार्षिक साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ।

शनिबार(आज) भएको उक्त अधिवेशनले शालिकराम भण्डारीको अध्यक्षतामा २ वर्षे कार्यकालका लागि ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा कविता गुरुङ (कवि), सचिवमा गणेश जि.सी, कोषाध्यक्षमा ज्योति हमाल, सह-सचिवमा शिवराज न्यौपाने चयन भएका छन्।

यस्तै सदस्यहरूमा रामचन्द्र बराल, छविलाल पनेरु, शिवप्रसाद पौडेल, नमराज बराल, शर्मिला थकाली र दिलकुमारी खाँण रहेका छन्।

मञ्चका परिकल्पनाकार दिपकराज बराल संयोजक तथा पदमबहादुर ढकाल र चन्द्रमाया वास्तोला सदस्य रहेको निर्वाचन समितिले नवनिर्वाचित कार्यसमितिलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए।

कार्यक्रममा आमन्त्रित प्रमुख व्यक्ति तथा छोरेपाटन मा.वि.का पूर्व प्रधानाध्यापक लक्ष्मण थापाले अधिवेशनको उद्घाटन गर्दै भू.पू विद्यार्थीहरूले पूर्व शिक्षकहरूलाई समेत साथमा लिएर विद्यालय र समाजको हितमा सक्रिय हुनुपर्ने धारणा व्यक्त गरे।

त्यसैगरी छोरेपाटन मा.वि.का प्रधानाध्यापक डिल्लिराम भूषाल र सहायक प्रधानाध्यापक खेमराज बराल (ध्रुव)ले मञ्चका हरेक गतिविधिमा निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता जनाए।

यस्तै पोखरा–२२, कालाबाङ घरेडीस्थित भगवती आधारभूत विद्यालयका भू.पू विद्यार्थी मञ्चका संयोजक यामबहादुर गुरुङले भू.पू विद्यार्थीहरू एकजुट भई वर्तमान विद्यार्थीलाई सहयोग गर्ने भावना विकास गर्न सकेमा ठूलो उपलब्धि हासिल गर्न सकिने बताए ।

सो अवसरमा मञ्चले आयोजना गरेका कार्यक्रमहरूमा सहयोग पुर्‍याउने नौलोघुम्ती नेपालका ओमकृष्ण गुरुङ, जिल्ला प्रहरी कार्यालय क्राइम इन्भेष्टिगेशन ब्रान्चका कमल भट्टराई, पूर्व विद्यार्थी देवराज आचार्य, पोखरा डिजिटलका दिपेन्द्र सुवेदी, सिटिजन फर्निचर न्यूरोड, स्वतन्त्र पत्रकार संघ कास्कीका कार्यसमिति सदस्य मदनराज जैसी, ‘विश्वको उत्कृष्ट गन्तव्य नेपाल’ अभियानका अभियन्ता प्राज्ञ नगेन सिंह ठकुरी र दरबारन्युज डटकमका समाचार प्रमुख सागर कार्कीलाई सम्मान समेत गरिएको थियो।

त्यस्तै मञ्चको संस्थागत कार्यसम्पादनमा योगदान पुर्‍याएको भन्दै उपाध्यक्ष हिमलाल उपाध्याय, सचिव शालिकराम भण्डारी, कोषाध्यक्ष कविता गुरुङ, सह-सचिव ज्योति हमाल तथा कार्यसमिति सदस्यहरू कृष्णप्रसाद पोखरेल, गणेश जिसी, कविता गुरुङ (कवि), रामचन्द्र बराल, शिवराज न्यौपाने र छविलाल पनेरुलाई अध्यक्ष कृष्ण रानाभाट तथा प्रमुख अतिथिबाट सम्मानपत्र प्रदान गरिएको थियो।

उक्त कार्यक्रममा आजीवन सदस्यहरूलाई सदस्यता प्रमाण-पत्र समेत वितरण गरिएको थियो। यस्तै कार्यक्रममा नारायणप्रसाद अधिकारी, दिपकराज बराल, देवराज आचार्य, पदमबहादुर ढकाल र राजु क्षेत्री लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

संस्थाका अध्यक्ष कृष्ण रानाभाटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष हिमलाल उपाध्यायले स्वागत मन्तव्य तथा सचिव शालिकराम भण्डारीले कार्यक्रम सञ्चालन गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्