जेठ २७,पोखरा ।।
नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईसम्म नियमित व्यावसायिक उडान सञ्चालन गर्न फ्लाई दुबईलाई अनुमति दिएको छ। यससँगै पोखराबाट अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार हुने अपेक्षा गरिएको छ।
प्राधिकरणका प्रवक्ता विक्रमराज गौतमका अनुसार फ्लाई दुबईले आगामी असोज ७ गते (सेप्टेम्बर २३) देखि एक महिनासम्म दैनिक उडान सञ्चालन गर्ने प्रस्ताव पेश गरेपछि अनुमति दिइएको हो। तय गरिएको तालिका अनुसार ‘बोइङ ७३७’ विमान बिहान ८:०५ बजे पोखरा अवतरण गर्नेछ भने ९:०५ बजे दुबईका लागि प्रस्थान गर्नेछ।
पोखरा–दुबई उडान अवधि करिब पाँच घण्टाको रहनेछ। दुबईलाई अन्तर्राष्ट्रिय ट्रान्जिट हबका रूपमा प्रयोग गर्ने यात्रु तथा पर्यटकले यस सेवाबाट विशेष लाभ लिन सक्ने विश्वास गरिएको छ। हाल फ्लाई दुबईले काठमाडौं–दुबई सिधा उडान सञ्चालन गर्दै आएको छ भने अब पोखराबाट पनि सेवा विस्तार गर्न लागेको हो।
यसअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालय एयरलाइन्सले चीनको ल्हासासम्म उडान सञ्चालन गरेको भए पनि पर्याप्त यात्रु अभावका कारण सेवा स्थगित भएको थियो। अहिले भने दुबई उडानले पोखराबाट दोस्रो नियमित अन्तर्राष्ट्रिय सेवा सुरु गर्नेछ।
पर्यटन व्यवसायीहरूका अनुसार दुबईमार्फत विश्वका प्रमुख गन्तव्यसँग पोखराको सीधा पहुँच विस्तार हुनेछ। होटल संघ पोखराका कोषाध्यक्ष नेत्रप्रसाद पौडेल ‘रमेश’ ले उडान सुरु हुनु मात्रै पर्याप्त नभई यसको दिगोपनाका लागि सरकारी र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन्।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले दुबई विश्वका प्रमुख अन्तर्राष्ट्रिय ट्रान्जिट केन्द्रमध्ये एक भएकाले यस उडानले पोखरालाई विश्वका सयौं सहरसँग जोड्ने सम्भावना सिर्जना गर्ने बताए। उनका अनुसार मध्यपूर्वमा कार्यरत नेपाली श्रमिक र विदेशी पर्यटक दुवैका लागि यो सेवा लाभदायक बन्नेछ।











