कोलम्बिया भूकम्प अपडेट: मृतक संख्या १३२ पुग्यो, ५७० भन्दा बढी घाइते, सयौँ बेपत्ता
  • प्रमुख खबर

साउन २६,काठमाडौं।।

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या १३२ पुगेको छ। सयौं मानिस अझै बेपत्ता रहेको बताइएको छ।
सरकारले प्रारम्भिक रूपमा १११ जनाको मृत्यु र ८७ जना घाइते भएको जनाएको थियो। तर कोलम्बियन एसोसिएसन अफ क्यापिटल सिटिजका अनुसार पछिल्लो विवरणमा मृतकको संख्या १३२ पुगेको छ भने ५७० जना घाइते भएका छन्।

कोलम्बियन जियोलोजिकल सर्भिसका अनुसार सोमबार गएको यो भूकम्प चालू शताब्दीमा कोलम्बियामा गएको सबैभन्दा शक्तिशाली भूकम्प हो। भूकम्पका कारण पश्चिमी कोलम्बियाका काली, पेरेइरा, क्विब्दो र मानिजालेससहितका शहरमा ठूलो क्षति पुगेको छ। यसको धक्का छिमेकी देश इक्वेडर र पानामासम्म महसुस गरिएको थियो।

अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) का अनुसार भूकम्पको केन्द्रबिन्दु राजधानी बोगोटाबाट करिब ४०० किलोमिटर पश्चिममा रहेको चोको क्षेत्रको सान होसे डेल पालमारमा थियो। भूकम्प १०७ किलोमिटर गहिराइमा गएको थियो।भूकम्पपछि केही घण्टामै कम्तीमा २१ वटा परकम्पसमेत गएको जनाइएको छ।

उद्धार टोलीले भवनका भग्नावशेषमा फसेका मानिसको खोजी तीव्र पारेको छ। भग्नावशेषमा ठूला कंक्रिटका टुक्रासहितका संरचना हातैले हटाएर समेत उद्धार प्रयास भइरहेको छ।

स्थानीय अधिकारीका अनुसार कालीमा मात्रै कम्तीमा २० वटा भवन पूर्णरूपमा भत्किएका छन् भने करिब ३८० वटा भवनमा क्षति पुगेको छ। भत्किएका भवनका भग्नावशेषमा अझै धेरै मानिस फसेको आशंका गरिएको छ। उद्धार तथा खोजी कार्य जारी रहेकाले मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्